





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अली (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मलाई अत्यधिक मज़ी (यौन इच्छा वा उत्तेजना हुँदा निस्कने पातलो र चिप्लो पदार्थ) निस्किन्थ्यो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को ज्वाइँ भएको कारणले उहाँसंग यस बारेमा सोध्न मलाई लाज लाग्यो । त्यसैले मैले मिक्दाद बिन अस्वदलाई सोध्न लगाए र उनले सोधेपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यस्तो व्यक्तिले आफ्नो गुप्तांग धोएर वुजू गरे हुन्छ ।" बुखारीमा छ: "वुजू गर र आफ्नो गुप्तांग सफा गर ।"
मुत्तफकुन अलैहिअली बिन अबू तालिब (रजियल्लाहु अन्हु) भन्छन्, मलाई प्रायः मज़ी निस्किन्थ्यो । मजी भनेको एक प्रकारको पातलो, चिपचिपा, सफा देखिने पदार्थ हो, जुन कामवासनाको समयमा वा यौनसम्पर्क गर्नुअघि गुप्तांगबाट निस्कन्छ । मजी निस्केपछि के गर्ने भनेर उहाँलाई थाहा थिएन । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) की छोरी फातिमा (रजियल्लाहु अन्हा) उनको श्रीमती भएकोले यसको बारेमा उहाँलाई सोध्न लाज लागिरहेको थियो । त्यसैले उनले मिकदाद (रजियल्लाहु अन्हु) लाई यसबारे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोध्न आग्रह गरे । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पहिले आफ्नो गुप्तांगहरू धुनुपर्छ र त्यसपछि वुजू गर्नुपर्छ भनेर जवाफ दिनुभयो ।
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, “मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, ‘कुन कर्म अल्लाहलाई सबैभन्दा प्रिय छ?’ उहाँले जवाफ दिनुभयो: ‘समयमै नमाज पढ्नु।’ मैले फेरि सोधें, त्यसपछि? उहाँले भन्नुभयो: ‘आमाबाबुसँग राम्रो व्यवहार गर्नु।’ मैले पुनः सोधें, त्यसपछि? उहाँले जवाफ दिनुभयो: ‘अल्लाहको मार्गमा जिहाद (धार्मिक युद्ध) गर्नु।’ उहाँले भन्नुभयो कि यी कुराहरूको बारेमा मात्र जानकारी दिनुभयो, यदि मैले अझ सोधेको भए, उहाँले अझ बढी बताउनुहुन्थ्यो।”
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो: कुन कर्म अल्लाहलाई सबैभन्दा धेरै प्रिय छ? उहाँले जवाफ दिनुभयो: शरियतले तोकेको समयमा फर्ज (अनिवार्य) नमाज पढ्नु । त्यसपछि आमाबाबुको आदर गर्नु; उनीहरूसँग दयालु व्यवहार गर्ने, तिनीहरूको अधिकार पूरा गर्नु र तिनीहरूको अवज्ञाबाट बच्नु । त्यसपछि, अल्लाहको वचनलाई उच्च पार्न, इस्लाम र मुस्लिमहरूको रक्षा गर्न, र इस्लामका शिआर (धार्मिक चिन्ह र मूल्यहरू) को सर्वोच्चता स्थापित गर्न आफ्नो ज्यान र धन दुवैसँग अल्लाहको मार्गमा जिहाद गर्नु हो। अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) भन्नुहुन्छ : रसूलल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई यी कार्यहरूको बारेमा बताउनुभयो; र यदि मैले ‘त्यसपछि के?’ भनी थप सोधिरहेँको भए, उहाँले मलाई अझ धेरै कुराहरू बताउनुहुन्थ्यो।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यस्तो कुनै दिन जाँदैन जब सेवकहरू बिहान उठ्छन्, आकाशबाट दुईटा स्वर्गदूतहरू ओर्लँदैनन्। एउटा स्वर्गदूत भन्छ, 'हे अल्लाह! खर्च गर्नेलाई उत्तम प्रतिफल दिनुहोस्, अर्को भन्छ: हे अल्लाह, कंजूषलाई नष्ट गर्नुहोस्।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, हरेक दिन, जब सूर्य उदाउँछ, दुई स्वर्गदूतहरू अवतरण गर्छन् र पुकार्छन्। एक जना भन्छन्: हे अल्लाह, असल काममा, आफ्ना सन्तानहरूमा, पाहुनाहरूमा र अन्य स्वेच्छिक कामहरूमा खर्च गर्नेहरूलाई राम्रो प्रतिफल देऊ र उनीहरूको सम्पत्तिमा आशिर्वाद देऊ। जबकि अर्कोले भन्छ: हे अल्लाह! जसले आफ्नो हात खर्च गर्नबाट रोक्छ, त्यसको सम्पत्ति नष्ट गर, जुन उसले हकदारहरूलाई दिनबाट रोकेको छ।
सहल बिन साअ्द (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "भोलि म यो झण्डा यस्तो व्यक्तित्वलाई प्रदान गर्नेछु, जसको हातद्वारा अल्लाहले विजय प्रदान गर्नुहुनेछ। जसले अल्लाह र उहाँका रसूललाई प्रेम गर्छ र अल्लाह र उहाँका रसूलले पनि उनलाई प्रेम गर्नुहुन्छ।" यो सुनेर मानिसहरूले रातभरि झण्डा कसले पाउने हो भनेर आपसमा छलफल र अड्कलबाजी गर्दै बिताए। बिहान सबैजना अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष उपस्थित भए। सबैले झण्डा पाउने आशा गरेका थिए। उहाँले सोध्नुभयो: "अली बिन अबी तालिब कहाँ छन्?" मानिसहरूले भने: "हे अल्लाहका रसूल! उनको आँखा दुखिरहेको छ।" उहाँले भन्नुभयो: "उनलाई बोलाऊ।" जब अली (रजियल्लाहु अन्हु) लाई बोलाइयो, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको आँखामा आफ्नो राल (थुक) लगाइदिनुभयो र उनको लागि दुआ (प्रार्थना) गर्नुभयो। फलस्वरूप उनको आँखा कुनै रोग नभएजस्तै गरी तुरुन्तै निको भयो। त्यसपछि उहाँले अली (रजियल्लाहु अन्हु) लाई झण्डा प्रदान गर्नुभयो। अली (रजियल्लाहु अन्हु) ले सोधे: "हे अल्लाहका रसूल! के तिनीहरू हामीजस्तै (मुस्लिम) नभएसम्म उनीहरूसँग युद्ध जारी रहनेछ?" उहाँले भन्नुभयो: "तिमी आफ्नै गतिअनुसार अघि बढ र जब उनीहरूको क्षेत्रमा पुग्छौ, तब उनीहरूलाई इस्लामतर्फ आमन्त्रण गर। अनि उनीहरूलाई अल्लाहको अधिकारसम्बन्धी उनीहरूको कर्तव्यहरू बताऊ। “अल्लाहको कसम! यदि अल्लाहले तिम्रो माध्यमबाट एक जना मात्र व्यक्तिलाई पनि सही मार्ग (हिदायत) मा ल्याइदिनुभयो भने, त्यो तिम्रा लागि राता-राता ऊँटहरू (त्यस समयको सबैभन्दा मूल्यवान् सम्पत्ति) प्राप्त गर्नुभन्दा धेरै उत्तम हुनेछ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबाहरूलाई जानकारी दिनुभयो कि मुस्लिमहरूले भोलिपल्ट खैबरका यहूदीहरूमाथि विजय प्राप्त गर्ने छन्। त्यो विजय एक यस्तो व्यक्तिको नेतृत्वमा हुनेछ जसलाई उहाँले झण्डा (सेनाले प्रयोग गर्ने प्रतीक) सुम्पिनु हुनेछ। यस व्यक्तिको गुण यो हो कि ऊ अल्लाह र उहाँका रसूलप्रति प्रेम राख्दछ, र अल्लाह र उहाँका रसूलले पनि उसलाई प्रेम गर्नुहुन्छ। यो महान सम्मानको आशा गर्दै सहाबाहरूले झण्डा कसलाई दिइनेछ भनेर छलफल र अड्कलबाजी गर्दै रात बिताए! भोलिपल्ट बिहान जब उनीहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भए, सबैले यो सम्मान आफूले नै पाउने आशा गरेका थिए। (जब सबैजना भेला भइसके) रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले "अली कहाँ छन्?" भनी सोध्नुभयो। भनियो : उनी बिरामी छन्; उनको आँखा दुखिरहेको छ । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई बोलाउनका लागि मानिस पठाउनुभयो। उनी उपस्थित भएपछि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको आँखामा आफ्नो पवित्र राल (थुक) लगाई दिनुभयो र उनको लागि दुआ (प्रार्थना) गर्नुभयो। फलस्वरूप, उनको आँखा कुनै रोग नभए झैँ पूर्ण रूपमा निको भयो। त्यसपछि, उहाँले उनलाई झण्डा सुम्पेर शत्रुको किल्लामा नपुगुन्जेल नम्रतापूर्वक अगाडि बढ्न र त्यहाँ पुगेपछि उनीहरूलाई इस्लाम धर्म स्वीकार गर्न आमन्त्रित गर्न आदेश दिनुभयो। यदि उनीहरू इस्लाममा प्रवेश गर्छन् भने, उनीहरूलाई अल्लाहका अधिकारहरू (इस्लामी दायित्वहरू) का बारेमा जानकारी दिन निर्देशन दिनुभयो। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अली (रजियल्लाहु अन्हु) समक्ष अल्लाहको धर्म अर्थात् इस्लामको मार्गमा मानिसहरूलाई आह्वान गर्ने सद्गुण (महिमा) बारे बताउनुभयो। उहाँले भन्नुभयो कि यदि कुनै धर्म प्रचारकको मार्गदर्शनले गर्दा एकजना व्यक्तिले पनि इस्लाम स्वीकार गर्छ भने, यो उपलब्धि उसका लागि रातो ऊँटहरू प्राप्त गर्नुभन्दा पनि उत्तम हुन्छ। जसको मालिक भएपछि मानिस चाहे तिनलाई आफ्नो उपयोगका लागि राखोस् वा चाहेको भए दान गरिदेओस्। यो कुरा स्पष्ट रहोस् कि रातो ऊँटहरू अरब समाजमा अत्यन्तै बहुमूल्य र प्रतिष्ठित सम्पत्तिमा गनिन्थे।
जैद बिन खालिद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले अल्लाहको बाटोमा जिहाद गर्ने (योद्धा) लाई (युद्ध उपकरणहरू उपलब्ध गराएर) तयार गर्छ, उसले पनि जिहाद गरेको हुन्छ। र, जसले युद्धमा जाने व्यक्तिको परिवारको राम्रो रेखदेख गर्छ, उसले पनि जिहाद गरे सरह हुन्छ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले अल्लाहको बाटोमा जिहाद गर्ने (योद्धा) लाई आवश्यक हतियार, युद्ध उपकरणहरू, सवारी साधन, खानपिन र अन्य चीजहरू उपलब्ध गराएर तयार गर्छ; ऊ नियमअनुसार योद्धासरह नै ठहरिन्छ र उसलाई पनि जिहाद गर्नेहरूको जत्तिकै पुण्य प्राप्त हुन्छ। जसले जिहाद गर्ने व्यक्तिको जिम्मेवारी लिन्छ र उसको अनुपस्थितिमा उसको घरपरिवारको राम्रोसँग हेरचाह गर्छ भने त्यस्तो व्यक्ति पनि नियमअनुसार योद्धासरह नै ठहरिन्छ।
यह्या बिन उमारा अल-माजिनी ले बयान गरेका छन् : मैले अम्र बिन अबू हसनलाई अब्दुल्लाह बिन जैद (रजियल्लाहु अन्हु) सगँ नबी (सल्लल्लाहु अलैहि वसल्लम) को वुजू गर्ने तरिका बारे सोधिरहेको देखें ।अब्दुल्लाह बिन जैदले पानीको एउटा भाँडो ल्याउन आदेश दिए र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जस्तै वुजू गरेर देखाए । उनले आफ्नो दुवै हातमा भाँडोको पानी खन्याए र तीन पटक हात धोए । त्यसपछि उनले भाँडोमा आफ्नो हात हाले र पानी लिएर तीन पटक मुख कुल्ला गरे, नाकमा पानी हाले र नाक सफा गरे । त्यसपछि उनले भाँडोमा आफ्नो हात हाले र पानी लिएर तीन पटक अनुहार धोए । त्यसपछि उनले भाँडोमा हात हालेर पानी लिएर दुई पटक कुहिनो समेत दुवै हात धोए । त्यसपछि उनले भाँडोमा हात हालेर पानी लिएर आफ्नो टाउकोको एक पटक मसह गरे (पानीले भिजेकोहात ले टाउको पुछ्नु, घस्नु) । टाउको मसह गर्दा पहिले दुवै हात टाउकोको अगाडिको भागबाट पछाडिको भागसम्म लगे र त्यसपछि पछाडिबाट अगाडि ल्याए । त्यसपछि उनले आफ्नो दुवै खुट्टा गोलीगाँठो सहित धोए ।
मुत्तफकुन अलैहिअब्दुल्लाह बिन जैद (रजियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को वुजू गर्ने तरिका व्यावहारिक रूपमा प्रस्तुत गरे । त्यसो गर्न उनले पानीको एउटा सानो भाँडो ल्याउन भने । उनले सबैभन्दा पहिले भाँडोलाई अलिकति ढल्काएर हातमा पानी खन्याए र आफ्नो दुवै हत्केला तीन पटकसम्म भाँडाबाहिर पखालेर वुजू कार्यको सुरुवात गरे। त्यसपछि उनले भाँडोमा हात हालेर तीन पटक पानी लिए र प्रत्येक पटक मुख कुल्ला गर्नुका साथै नाकमा पानी तानेर राम्ररी सफा गरे । त्यसपछि उनले भाँडोबाट पानी लिएर आफ्नो अनुहार तीन पटक धोए । त्यसपछि उनले भाँडोबाट पानी लिएर दुवै हात कुहिनो समेत दुई पटक धोए । त्यसपछि उनले आफ्नो दुवै हात पानीमा भिजाए अनि दुवै हातले आफ्नो टाउको मसह गरे । टाउको मसह गर्दा पहिले आफ्नो निधारबाट शुरू गरे र टाउकोको पछाडि गर्धनको माथिल्लो भागसम्म लगे र त्यसपछि पछाडिबाट घस्दै सुरु गरेको ठाउँसम्म ल्याए । त्यसपछि उनले आफ्नो दुवै खुट्टा गोलीगाँठो सहित धोए ।
अम्मार बिन यासिर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई एउटा काममा पठाउनुभयो । (यात्राको क्रममा) म जुन्बी (विर्य निस्कने कारणले हुने अपवित्रता) भएँ र (नुहाउनको लागि) पानी पाइनँ , त्यसैले म माटोमा जनावरले लडीबुडी गरे झैं लोटपोट गरें । त्यसपछि म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भएँ र उहाँलाई उक्त घटनाबारे भनें , उहाँले भन्नुभयो: "तिम्रो लागि आफ्नो हातले यसरी गर्न पर्याप्त थियो ।" त्यसपछि उहाँले आफ्नो दुवै हात भुइँमा एक पटक हान्नुभयो र आफ्नो दाहिने हातले देब्रे हात, हत्केलाको पछाडि र अनुहारमा मसह (पुछ्नुभयो) गर्नुभयो ।
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अम्मार बिन यासिर (रजियल्लाहु अन्हु) लाई कुनै कामको लागि बाहिर पठाउनुभयो । यात्राको क्रममा सम्भोग वा वीर्य स्खलन भएकोले जुन्बी (अपवित्र) हुनु भयो र तर उनले नुहाउनको लागि पानी पाएनन्। त्यतिबेला जनाबत (ठूलो अपवित्रता) पछि तयम्मुम गर्न मिल्छ भन्ने कुरा उनलाई थाहा थिएन । तर हदस अस्गर (सानो अपवित्रता) मा तयम्मुम गर्न अनुमति छ भन्ने कुरा थाहा थियो । त्यसैले उनले इज्तिहाद (साधार विचारविमर्श) गरे, र यो निष्कर्ष निकाले कि जसरी हदस अस्गर (सानो अपवित्रता) को अवस्थामा (वुजूको आवश्यकता हुँदा पानी नहुने स्थितिमा) वुजू गरिने केही अङ्गहरूमा मात्र माटोले तयम्मुम गरिन्छ, त्यसैगरी जनाबत (ठूलो अपवित्रता) हुने अवस्थामा (पवित्रता को लागि पानी नहुने स्थितिमा पानिले पुरै शरीर नुहाउने जसरी गरेर) भुइँमा लडीबुडी गरी सम्पूर्ण शरीरमा माटो लगाएर पवित्रता प्राप्त गर्न सकिन्छ ; अतः उहाँले त्यसै गरेर नमाज पढ्नु भयो । पछि जब उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आए, तब उनको सो कार्य सही थियो कि थिएन भनेर जान्नका लागि उक्त घटनाबारे उहाँलाई जानकारी गराए। त्यसो सुनेर, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई दुवै प्रकारका अशुद्धता (हदथ) अर्थात् सानो अशुद्धता (जस्तै पिसाब) र ठूलो अशुद्धता (जस्तै जनाबत) बाट शुद्ध हुने तरिका सिकाउनुभयो। यो तरिका यस्तो छ: माटोमा एकपटक दुवै हातले प्रहार गर्ने, त्यसपछि बायाँ हातले दाहिने हातको पछाडि, अनि दुवै हत्केलाको पछाडि र अनुहारमा मसह गर्ने ।
जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग बैअत (प्रतिज्ञा) गरेँ कि अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भनी गवाही दिनेछु, नमाज कायम गर्नेछु, जकात तिर्नेछु, शासकप्रति वफादार रहनेछु र हरेक मुस्लिमको हित र कल्याण गर्नेछु।
मुत्तफकुन अलैहिसहाबी हजरत जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग निम्न कुराहरूप्रति वचनबद्धता जनाउँदै प्रतिज्ञा गरे: अल्लाहको तौहीदको (एकेश्वरवादको) सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुहुनेछ; दिन-रातमा पाँच अनिवार्य नमाजहरूलाई तिनीहरूका अर्कान (स्तम्भहरू), शर्त (सर्तहरू), वाजिब (अनिवार्य कार्यहरू) र सुन्नत अनुसार नियमित रूपमा सम्पन्न गर्नुहुनेछ; त्यसैगरी निर्धारित जकात (यो एक अनिवार्य आर्थिक उपासना हो जुन धनी व्यक्तिहरूबाट सङ्कलन गरी गरिब तथा अन्य योग्य व्यक्तिहरूलाई वितरण गरिन्छ) प्रदान गर्नुहुनेछ; शासक र सरोकारवालाहरूको आज्ञापालन गर्नुहुनेछ; र प्रत्येक मुस्लिमको कल्याणको कामना गर्दै उनीहरूको हितका लागि तत्पर रहनुहुनेछ, उनीहरूलाई लाभ पुर्याउनुहुनेछ, र वचन तथा कर्म दुवैबाट उनीहरूलाई हानि नहुने कुरा सुनिश्चित गर्नुहुनेछ।
मुआज बिन जबल (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको हात समातेर भन्नुभयो: "हे मुआद! अल्लाहको कसम, म तिमीलाई माया गर्छु।" उहाँले अगाडि भन्नुभयो: "हे मुआद! म तिमीलाई हरेक नमाजपछि यो दुआ पढ्न नछोड्न सल्लाह दिन्छु: "अल्लाहुम्म अइन्नी अला जिक्रिक व शुक्रिक व हुस्नि इबादतिक।" हे अल्लाह, मलाई तपाईंको जिक्र (स्तुति) गर्न, तपाईंको कृतज्ञता व्यक्त गर्न र उत्तम तरिकाले तपाईंको उपासना गर्न मद्दत गर्नुहोस्।
رواه أبو داود والنسائي وأحمدनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुआद इब्न जबल (रजियल्लाहु अन्हु) को हात समातेर भन्नुभयो: "हे मुआद! म तिमीलाई माया गर्छु र तिमीलाई सल्लाह दिन्छु, हरेक नमाज पछि यो दुआ पढ्न नछोड: (अल्लाहुम्म अइन्नी अला जिक्रिक... ) को अर्थ : हे अल्लाह! मलाई प्रत्येक वचन र कर्मले तपाईंलाई सम्झन मद्दत गर्नुहोस्। (व शुक्रिक) आशीर्वाद प्राप्ति र विपत्तिहरूबाट बचेकोले तपाईंको कृतज्ञता व्यक्त गर्न मद्दत गर्नुहोस्। (व हुस्नि इबादतिक) इमानदारीपूर्वक र पैगम्बरको अनुसरण गर्दै अल्लाहको उपासना गर्न मद्दत गर्नुहोस् ।